शुभ यात्रा.....
यदि तपाईं सुमो चढ्ने गर्नुभएको छ भने, यो तपाईंको लागि नौलो भने नहुन पनि सक्छ । लामो रुटमा चल्ने, सानो सुमो गाडीको तस्बिर हो यो । यहाँ गाडी कसले चलाइरहेको होला भन्न नसकिने पनि अवस्था छ ।
यो वर्षायाममा कैयौँ घटनाहरु घटे । कति घट्नबाट बचे पनि होलान् । कैयौँ कारणहरुमध्ये बढी मान्छे राख्नु यो एउटा प्रमुख कारण हो । सामान्यतया त्यो दुई जनाको सिटमा पाँच जनाको टाउको देखिन्छ । पछाडि पनि हामी त्यति नै धेरै छौँ, कोचाकोच अवस्थामा । कठै भन्न बाहेक यात्रुका हातमा केही हुँदैन । चालकलाई यस बारेमा भन्यो भने बिच बाटैमा झारिदिन्छन् । अलि नम्र चालक रहेछन् भने मिलेर जाऔँ न भन्छन् । “वसुधैव कुटुम्बकम्”, मिलेरै जानुपर्यो ।
केही समय अगाडि एकजना मेरो साथीले मान्छे धेरै राखिएको भनि सम्बन्धित निकायमा फोन पनि घुमाएको थियो । के गर्नु, मजाकको पात्र भयो बिचरा । सबैको हालीमुहालीमा, मामुली एक सर्वसाधारणको कुरा सुन्ने कसले ? यात्रुले यात्रुलाई नै उल्लु बनाउँछन् ।
यो ११ घन्टे यात्रापछि चालकलाई धन्यवाद बाहेक केही भन्न सकिनँ । अर्को पटक फेरी यसै गरी चढ्नु नै छ । त्यसैले त तलका हरफहरु याद आएः
आकाशका जहाज धरापमा
बाटाका गाडी खोलामा
बाटाघाटाका त कुरै नगरौँ
कठै जनता, निकै मारमा ।।
ठेकदार, नभेटिने दुलोमा
नेताहरु बिस्तरामा (बूढा परे सबै)
सरकार मस्त निद्रामा
कठै जनता, निकै मारमा ।।
रुन्छन्, चिच्याउँछन् जनता
सुन्ने यहाँ दैव मात्र रहे
नभैदिएका भए पशुपति र दैवजनहरु
कठै कठै नेपाली जनता ।।
Read more:
Comments
Post a Comment