स्वदेशमै बसिस्, असफल भइस्..........
आउनुहोस्, एकजना साथीसँगका कुरा जस्ताका तस्तै ।
साथी: "स्वदेशमै बसिस्, असफल भइस् । यी शब्द मेरा होइनन्, समाजका हुन् । प्रत्येक दिन समाजका अङ्गहरुले दोहो¥याइरहने अनि सम्झाइरहने वाक्यांश जस्तै भइसकेको छ यो ।
मैले केही वर्ष अगाडि फलानो कम्पनीको बाइक किनेको थिएँ । बाइक चलाउन थालेको एक दुई हप्तामै त्यही कम्पनीको बाइक जताततै बाटोमा देख्ने गर्न थालेँ । यो अनुभव मैले मात्र होइन, धेरैले पाएका छन् । आफूले प्रयोग गर्ने सामान अरुले पनि धेरै नै प्रयोग गर्ने गरेको जस्तो लाग्दछ । यसलाई अङ्ग्रेजीमा Baader-Meinhof प्रवृत्ति भनिन्छ । अर्थात् अङ्ग्रजीमै frequency illusion र नेपालीमा 'आवृत्ति भ्रम' ।
ठ्याक्कै ‘विदेशिने’ कुरामा पनि यो उत्तिकै मिल्न जान्छ । बिहान उठ्दा बित्तिक्कै मोबाइल चलाइहाल्नु पर्ने मजस्ता तमाम जनसङ्ख्या छ । मोबाइल खोल्नासाथ चाहे त्यो समाचारले होस् वा रिल्सले होस्, “फलाना महिनामा यति लाख मान्छे विदेशिएका छन् ।” सँगसँगै समाचारले यही कुरो दोहो¥याइ रहन्छ, कसैले फेसबुकमा विदेशकै फोटो हाल्छ, चिया पसलमा विदेशकै कुरा हुन्छ, इत्यादि । बारम्बार सन्दा आफूलाई पनि लाग्दछ कोही छैनन्, सबै गइसके । अहिलेको अवस्थामा हामीले यो चरण उहिल्यै पार गरिसक्यौँ सायद ।
Photo Credit: AI
अब आयो पैसोको कुरो । मेरो छोरोले महिनामा ४, ५ लाख कमाउँछ, फलानाको कसले घर किनेछ, गाडी किन्यो, घडेरी जोड्यो, आदि । फेरि अर्को चरणको आवृत्ति भ्रम सिर्जना हुन्छ । राम्रै जागिर गरिरहेका मान्छेपनि सोच्न बाध्य हुन्छन् । अनि प्रायःले आफू असफल भएँकी भन्ने भावना सिर्जना गर्दछ । किनकी फलानोले घर किनेको र कति कमायो भन्ने कुरो त प्रकाशको गतिभन्दा पनि चाँडो पुग्छ र फैलिन्छ । समाजले नै गिज्याउन थाल्छ, जुन भ्रमको खेती हो । आखिर, समाज भनेका म र हामीहरुको जमात होइन र ? समाज प्रगतिशील हुन्छ, हुनपनि पर्छ, तर यो चरणमा त सीमा नाघेर कोशौँ टाढा पुगिसक्छ ।
साथीहरु सुनाउँछन्, घन्टौँ काम गर्नुपर्छ, बिरामी हुँदा पनि काममा जानुपर्ने बाध्यता, अनि बिरामी हुँदा पानी पनि दिने मान्छे नहुनुको पीडा । तर समाजमा त कुरा त पैसाका मात्र हुन्छन्, दुःखका हुँदैनन् । बिरामी भएका र दुःखका कुराका आवाजहरुले न कसैले सुनाउँछन् न त समाजले नै जानकारी दिन्छ । त्यसले पनि अर्को चरणको आवृत्ति भ्रम बढाउँछ ।
फेरी कुरो आउँछ, बेलैमा कमाउने अनि दुःख गर्ने बारे । त्यो त एक तरिकाले सत्य हो । तर ४० कटेसी रमाउनेहरु पनि छन्, ५० कटेसी कमाउनेहरु पनि त छन् । बुढापाका सुनाउँछन्, मनको खुसी र मनको शान्ति पछ्याउनु । मान्छे भएकाले होला सायद सन्तुष्ट त यहाँ कोही छैनन्, कतै पनि छैनन् । मायारुपी जालोमा फस्नु भनेको यही नै हो सायद ।
साथीहरु सुनाउँछन् विदेशमा प्रायः हजुरबुबा, हजुरआमाका उमेरका मान्छेहरु एकाबिहानै काममा धाइरहेको हुन्छन् । विभिन्न कारणहरु मध्ये एक्लोपन टार्न, अवकाशका लागि पैसा सङ्कलन, र व्यायाम ।
स्वदेशमा केही समय काम नगरी बस्दा पनि चुलो जसोतसो बलिरहेको हुन्छ । कोही त जिन्दगी भरि काम नगरी बस्दा पनि चलिरहेकै हुन्छ । विदेश त्यस्तो होइन । एक महिना पनि काम नगरीबस्दा सडकमा आइपुग्न समय लाग्दैन । नेपालमै बसेर केही न केही गरिरहेका साँच्चै साहसी लाग्दछ । अचेल अचेल विचार गर्छु, कृषिजस्तो बलियो जागिर ̸ काम संसारमा केही रहेनछ । चुलो बाल्न सक्ने तागत त कृषिमा भरपुर रहेछ । सायद कृषिमै आत्मनिर्भर भएका भए निकै अगाडि पुग्न सकिने रहेछ, पुग्न सकिनेछ ।
सफल र असफलको ठ्याक्कै अर्थ भेटिँदैनन् । हरेकका आ–आफ्ना सफलता र असफलताका कहानीहरु हुन्छन् । हरेक वर्ष ७० कटेकाहरुले SEE परीक्षा दिनेहरु हुन्छन् । समाजका केही पात्रहरुलाई त्यो कुरा प्रेरणादायी लाग्छ, केहीलाई हाँस्यास्पद । आफूलाई सफलता लाग्छ भने किन खुसी नहुने ? बरु त्यसपछि अर्को नयाँ लक्ष्य खोजिहाल्ने निकै सान्दर्भिक हुन्छ । रुखमा डालेघाँस काट्ने बुढाबुढीहरु कहिल्यै फेदमै रोकिएनन् । टुप्पो पुगेरै पनि काटेर लिएर आए । Never stop अर्थात् कहिल्यै नरोकिनु । बुढाहरु भन्छन्, सुझाव सबैका लिनु, निर्णय आफैँ लिनु । समाजले अचेल प्रेरणा भन्दा बढी बेदना दिन्छ, हौसला दिनुभन्दा बढी हतोत्शाही बनाउँछ । समाजका कुरालाई थोरै सुन्नु वा सुझावका रुपमा लिनु, निर्णय त आफ्नो छँदैछ । सायद पैसा मूल्य एउटै भएका भए, कोही विदेशिने थिएनन् । यहाँ कमाएर उता पठाउँदा धेरै हुने मात्र हो । यहाँ कमाएर यहीँ खर्च गर्न त सक्दै सकिँदैन । यता न घुम्नु, न रमाउनु, मात्र कामै काम । विदेशिनु कसैलाई रहर, कसैलाई बाध्यता, दाजै । साथी भन्छ, आफ्नो निर्णयलाई विश्वास गर्नु, स्वस्थ रहनु, मस्त रहनु । त्यही नै सफलता हो ।"
साथीका केही घत लाग्दा शब्दहरु यहीँ बिसाउन चाहेँ ।

Comments
Post a Comment