युनिभर्सिटिका पहिला दिनहरु
सबैजस्तै म पनि हजार सपनाहरु बोकेर नेपालबाट हिँडेको केटो थिएँ । लामो समय वनपाखा, डाँडाँकाँडाँ, फरक ऋतुहरु, धूलोधूँवा, कोलाहल, साथीभाइ छरछिमेक, अनि पारिवारिक माहोलमा हुर्किएको थिएँ म । अर्कोपट्टि भने निकै फरक छ भन्ने सुनेको थिएँ । ठूलो विमानमा यात्रा गर्न लागेको मेरो पहिलो चोटि थियो । म जान लागेको विश्वविद्यालयमा के भयो भनेर चाहिँ केही समयपछि गन्थनमन्थन गर्नेछु ।
स्कुल पढ्दा अचम्मको बानी लागेको थियो । नेपाली भएर प्रायः हामीलाई शुद्धसँग नेपाली लेख्न नआउने अनि अङ्ग्रजी बोल्न नजान्ने । आउँथ्यो त ठ्याक्कै त्यसको उल्टो, फरररर नेपाली बोल्ने र फिलिलिलि अङ्ग्रेजी लेख्ने । त्यो कमजोरी भने कहिल्यै सुधार्न सकिएन । त्यसैले पनि होला प्लेनबाट झरेपछि के बोल्ने होला र को—सँग बोल्ने होला भनि मनमनै आत्तिएको । साथीहरु भन्थे, उनीहरु त बोलेकै बुझिँदैन, न आफूले बोलेका शब्दहरु सजिलै बुझाउन सकिन्छ । अस्तिको हप्तामात्र कहानी हो, चामल सकिएको थियो । पसल गएँ, मैले खोजेको चामल भेटिनँ र पसलेलाई सोधेँ, यहाँ बास्मती चामल कता होला भनेर । पसलेले बुझ्नुभएन, फेरी दोहो¥याएँ । उहाँले, ‘ओ, बज्माटी ?’ भन्नुभयो । मैले पनि हजुर त्यही भनेर लिएर आएँ ।
साथीहरुले भनेजस्तै म झुक्किन्छु, हरेक चोटि । म उतै हँुदा खेरि मेरो हुनेवाला विदेशी साथीहरुले कुन प्लेनमा आउन लागेको भनि भिडियो कलमा सोधेका थिए । मैले कतार एयरवेज भन्दा उनीहरु अक्मक्किए । मैले दुई चोटि भनिसकेपछि मात्र अन्दाज लाए, ‘ओ यू मिन काटार ?’ मुन्टो हल्लाएर हो भन्ने सङ्केत गरेँ । सबैभन्दा झन्झट भने यहाँका ठाउँहरु उच्चारण गर्दा हुने लाग्यो आफूलाई । Portsmouth, मेरो कोठाबाट नजिकै पर्ने सानो शहर हो । बच्चैबाट mouth, माउथ माने मुख भनि पढिआएको, अहिले त्यसैलाई मिथ ̸ मथ भन्दै हिँड्ने गरेको छु । यो कुरा सामान्य रहेछ । हरेक देशका मान्छेका बोल्ने शैली फरकफरक हुने हुनाले यहाँ प्रायः सबैलाई बानी झैँ परिसकेको रहेछ । तर भाइ र म भने हरेक चोटि फोनमा कुरा गर्दा ठट्यौली पारामा Dallas लाई ‘डल्लाज्’ भन्ने गर्छौँ । हामी मध्यपश्चिमका मान्छे, सानैबाट बोल्ने लबज नै उतैको छ, जस्तैः ‘यि क्या का डल्लाहरु हुन् क्या ?’
ओहो, युनिभर्सिटिमा बारेका लेख्छु भनेको कता कता पुगेछु । TU मा पढेको, कापी भर्ने बानीले के के लेखिन्छ, कता कता पुगिन्छ, मेसो पाउनै गाह्रो ।
पहिलो दिनः
म एयरपोर्टबाटै हराउँछु भन्ने मलाई ठूलो डर थियो । डर मान्नु जायज पनि थियो । कलेज पुग्नलाई प्लेनबाट झरेर ट्याक्सी चढ्ने, अनि रेल चढेर कलेज पुग्ने । नेपालगञ्ज गएर बोर्डर कटी छुस्स रेल छोएर फर्किएजस्तो सजिलो थिएन मलाई । निन्याउरो अनुहार लगाएर म त सक्दिनँ होला भनेर प्राध्यापकलाई भनेपछि धन्न ल्याबका साथीहरु लिन आए । साँच्चै, हराउन समय त लाग्दैन, तर गुगलमा नक्सा हेर्न जान्ने, अलिकति अङ्ग्रेजी बोल्ने र थोरै पैसा भएपछि बासस्थानमा पुग्न चाहिँ पुगिने रहेछ ।
ल्याबका साथीहरुले गाडीबाट ठाउँहरु देखाउँदै कलेजसम्म ल्याइदिनुभो, धन्यधन्य । उहाँहरुले हाम्रो नेपाली साथीहरु बस्ने ठाउँसम्म छोडिदिएपछि होस्टेल नखुलुन्जेल सम्म तीन दिन जति त्यहीँ बसियो ।
भोलिपल्ट उठेर कलेजतिर लागेँ । यहाँको बाटोमा म हिँड्न लागेको त्यो पहिलो पटक थियो । गुगलमा नक्सा हेर्दै हेर्दै कोठाबाट निस्किएँ । बाटो काट्नुपर्ने ठाउँ आयो । रफ्तारमा गाडीहरु गुड्ने यी बाटामा अचानक मलाई देखेर उनीहरु रोकिए । नेपाल सम्झिएँ । बाटो काट्दा गाडी देखेपछि मान्छे दौडिनु पर्ने, मान्छे देखेपछि गाडी पनि दौडाउन पर्ने । जो छिटो दौडियो त्यही बच्यो भनेजस्तो । मलाई यी गाडी रोकिँदा 'प्रिन्स ट्रिटमेन्ट' भन्दा कम लागेन । लाज लागेर हो की बानी लागेर हो थाहा भएन तर त्यो जेब्रा क्रसमा म भने अरुबेला भन्दा छिटो हिँड्ने प्रयास जरुर गरेको थिएँ । करिब ३८ मिनेट हिडेँर म कलेज पुगेँ । त्यहाँ कलेजले आई.डी.कार्ड दिन बोलाएको रहेछ । लिएर फर्किएँ ।
समय बित्दै गयो । क्लासहरु लाग्न थाले, प्राध्यापकसँग मिटिङ् पनि निरन्तर हुन थाल्यो, केही थान बोल्ने मान्छेहरु हुन थाले । सायद कलेजको त्यो पहिलो हप्ता थियो । प्राध्यापकले अबदेखि आफूलाई उहाँको नामले बोलाउन भन्नुभयो । जिन्दगीभर सर र म्याम भन्ने लागेकोे बानी छुट्न गाह्रो थियो । केही दिन लाज पचाएरै भएपनि नामले बोलाउन थालेपछि अलिक सजिलो भयो ।
कलेजको दोस्रो हप्ता थियो । मिटिङ्मा मैले नजानेको एउटा प्रश्न सोधेको थिएँ । हामी सबै कुर्सीमा बसेका थियौँ । प्राध्यापकले केही लेख्न खोजेर मेरो प्रश्नको जवाफ दिने भन्नुभयो । लेख्ने बोर्ड भूइँमा थियो । जुरुक्क कुर्सीबाट उठेर भूइँमा थचक्क बसेर बोर्डमा लेख्दै गर्दा मनमा असजिलो भएको थियो । नेपाल सम्झिएँ ।
दिनहरु बित्दै गए । न कुनै तालाबन्दी देखेँ, न कसैले पार्टीका झन्डा बोकेको देखेँ, न कोही प्राध्यापकले आफ्नो पार्टीमा लागेको विद्यार्थीलाई मात्र समर्थन गरेको देखेँ, न विद्यार्थीहरु पार्टीका नाममा लडेको देखेँ । वाह, क्या गज्ज्ब यार । अनि फेरि नेपाल सम्झिएँ ।

Comments
Post a Comment