हल्लिने पेट
अब त अति नै भयो । यो पेटले पनि हैरान बनायो । यो डल्लो पनि कस्तो अचम्मको, कताबाट निस्किन्छ निस्किन्छ । आँखा कमजोर भएका त होइनन् तर अचेल मेरा सल्बलाउँदा आँखाले आफ्नै खुट्टा पनि देख्न छाडे । यो बेइमानी बडेमानको पेट कतै धितो राख्न मिल्ने व्यवस्था भए पनि हुने नि ।
"अघि अघि पेट, पछि पछि सन्देश" भन्ने नाराका साथ बिहानै हिँड्न जाने निधो गरियो । तिनकुनेदेखि सिनामंगल, एयरपोर्ट हुँदै पशुपतिसम्म पुगेर त्यही बाटो हल्लिने निर्णय गरेँ । त्यो निर्णय मेरा टोल छिमेकदेखि नातागोता सबैले थाहा पनि पाए । मैले नै भनेको हुँ । छिटै फुर्किने बानी छ सायद ।
पहिले एकचोटी पनि यस्तै सोच आएको थियो, त्यसैले हल्लिने पेट लिएर गएको थिएँ । त्यो बेला पशुपतिसम्मैै दौडिने मनमनै बाचा गरेतापनि एयरपोर्ट अगाडिको अँध्यारोमा खुट्टा नै मड्किएर बसमा फर्किएको थिएँ । घरबाट हल्लिने पेट लिएर गएको म, घस्रने जन्तु बनेर फिर्ता आएको नमिठो स्मरण छ ।
खैर, आज पुगेर आएँ । रमाइलो संयोग के भयो भने, कुद्न खोज्ने सबै, हल्लिने पेटका साथ उपस्थित थिए । यी सबै आजै आएका हुन् या सधैँ आइरहन्छन् भन्ने प्रश्नहरु भने अझैँ अनुत्तरित नै रहन पुगे । वर्षभरी दौडिनेको पेट पनि मेरा भन्दा ठूला देखेँ । मनैमनमा मक्ख पनि परेँ ।
पेट त सबैका हुँदारहेछन् । हतासमा लिएको त्यो निर्णयले झण्डै डुबाएन । पेट त चिनारी पो रहेछ, अस्तित्व रहेछ । यसलाई मैले मेटाउन नखोज्ने निस्कर्षमा पुगेँ । त्यसैले, फोटो खिच्दा वा अन्य चाहिने अवस्थामा मात्र पेटलाई भित्र तान्ने भनि म र मेरो मन दुबैले सँगै निर्णय लियौँ । बाँकी हेर्दै गरौँला ।
Comments
Post a Comment