सानोठिमी

फेरी पनि हप्ताको छैटौँ दिन, शुक्रबारको आगमन भयो । वर्षका प्रायः सबै शुक्रबार र शनिबारहरुमा म आफ्नो मामाघर, भक्तपुरको सानोठिमीमा भेटिन्थेँ । 

म ३ वर्षको हुँदा पहिलो पटक काठमाडौँ आएको रहेछु । मलाई केही पनि सम्झना त छैन तर ड्याडी मम्मीहरुसँगका लोभलाग्दा फोटोहरु मेरो फोटो एल्बममा सजाएर राखेको छु । अझैँपनि कहिलेकसो क्युट बच्चाहरुको तस्विर हेर्न मन लागेका बेला त्यही फोटो एल्बम पल्टाएर आफ्नै तस्विर हेर्ने गर्दछु । नपत्याए कैद भएका सम्झनाहरु आफैँ हेर्नुहोस् नः



तस्विरः फुपूकी छोरी भावना र म

काठमाडौँ घुमिसकेर फेरी आफ्नो जन्मथलोतिर गएको रहेछु । त्यसको ठीक १ वर्षपछि पढ्नका लागि काठमाडौँमै आएँ । यहाँबाट भने मेरा मानसपटलमा विभिन्न सम्झनाहरु अझ ताजै छन् । बिराट बोर्डिङ् स्कुलमा ड्याडीले भर्ना गरिदिनु भएको थियो । हामी दुई कोठा लिएर बसेका थियौँ । जसमा हामी तीनजना बस्ने गर्दथ्यौँ, ड्याडी, अङ्कल अनि ‘क्युट बाबु’ म । मम्मीको जागिर भने सल्यानमै भएको हुँदा उहाँसँग केबल दशैँमा मात्र भेट हुन्थ्यो । 

सानो छँदाको समय त यत्तिकै बितेजस्तो लाग्थ्यो । खायो, खेल्यो, अलिअलि पढेजस्तो गर्याे, चित्त नबुझेको कुरामा रोइदिए मात्र भयो, चकचक गर्यो, आदि इत्यादि । स्कुलमा केही साथीहरु बनाएको थिएँ । अहिले त न कसैको नाम याद छ, न त सम्झना नै । दुई वर्ष त्यहाँ पढेपछि हामी मध्य बानेश्वर स¥यौँ, ड्याडीको अफिस नजिकै । म यू.के.जी.मा भर्ना भएँ । ओहो, फेरी नयाँ साथी बनाउन पर्ने, कति अप्ठेरो । तर, साथी चाहिँ बनाएँ है । नारायण पाण्डे, जुगुलाल, सन्तोष खड्का, बिक्रम तामाङ, सुजाता खड्का, सबिना लामा, अशोक श्रेष्ठ, सन्जिब श्रेष्ठ आदिसँग त फेसबुक लगायतले कुरा गर्न कति सजिलो बनाइदिएको छ अचेल । 

बानेश्वरमा पानीको हाहाकार उस्तै थियो । ड्याडी र अङ्कल २०५५ सालतिर रत्नराज्य स्कुल अगाडिको ढुङ्गे धारामा राति १२, १ बजेतिर पानी थाप्न लाइन लाग्न जानुहुन्थ्यो । पानीको हाहाकार पनि यति थियो की कहिले काँही त होलीको दिन पनि ननुहाइ रङ्गसँगै सुतेको सम्झना छ । 

रत्नराज्यमा स्कुलमा पढ्ने ‘क्युट बाबु’ म, फिक्का निलो रङ्को सर्ट, गाढा निलो रङ्को प्यान्ट अनि टाइमा रजगज हुँदै जान्थेँ । छालाको कालो जुत्ता टल्काउनलाई भने मैले मेरो आफ्नै फर्मुला तयार गरेको थिएँ । घरबाट खानका लागि ल्याएको शुद्ध तोरीको तेल मैले सुटुक्क मेरा दुई जुत्तामा लगाउने गर्थेँ । आजसम्म पनि ड्याडी र अङ्कललाई यसबारे थाहा छैन सायद । तोरीको तेल छिटो सक्किनुमा मेरो ठूलो हात थियो । यसै लेखबाट उहाँहरुलाई पनि यसबारे जानकारी गराउन चाहन्छु । म बच्चै थिएँ, मलाई तोरीको तेल त्यति महङ्गो पर्छ भनि थाहा थिएन है, माफी पाऊँ ।

ओहो, चकचके म, रुन्चे म, हैट । छैवैको कोठामा लक्ष्मण दाई बस्नुहुन्थ्यो । कति रुन्छस् ए केटा भन्नुहुन्थ्यो । अस्ति २०८० को गुरु पूर्णिमामा भेट हुँदा पनि कति दुःख दिन्थिस् यार भन्दै गिज्याउनु भयो पनि । 

चकचक गरेरै होला सायद स्कुलको ड्रेस सफा हुन भने कहिल्यै सकेन । हप्ताभरिको मैलो लुगा बोकी पानीको हाहाकार हुने बानेश्वर छोडी मलाई सानोठिमीसम्म जाने मिठो व्यवस्था हुन्थ्यो । ‘क्युट बाबु’ को लागि सफा लुगाको व्यवस्था भने मेरो मामाघरमा हुन्थ्यो । किनकी सानोठिमीमा पानीमा मस्त खेल्न पाइन्थ्यो । मामाघरमा हजुरबुवा, हजुरआमा, मामा, माइजू, अनि अन्टिहरु, सबै भएर मज्जा हुन्थ्यो । प्रायः जसो शुक्रबारका दिन मलाई ड्याडी अथवा अङ्लले सानोठिमी पु¥यादिनुहुन्थ्यो । म भन्दा छ महिना मात्र जेठी, मेरी फुपूकी छोरी, भावना पनि त्यतै बस्थी । खेल्नलाई भने टोलमा आफ्नै उमेरका केही साथीहरु पनि थिए ।  

‘क्युट बाबु’ पनि ५ पुगी ६ वर्ष पुग्न लागेको थियो । कुनै एक शुक्रबार, मामाघर जानका लागि फेरी पनि लुगा तयार पारेँ । ड्याडीले मलाई लगिदिने कुरो पनि भयो । तर, यसपटक भने फरक तरिकाले । सर्त अनुसार ड्याडीले बानेश्वर चोकसम्म प¥याइिदिने कुरो भयो । कता कता डर त लागेको थियो तर आँट भने गरिहालेँ । म यू.के.जी.पढ्ने फुच्चे, सोचेजस्तो कहाँ हुन्थ्यो र ?

मध्य बानेश्वरबाट १५ मिनेट हिँडेर हामी बाबु छोरा बानेश्वर चोक पुग्यौँ । सानोठिमी जाने ९ नम्बरको गाडी (मर्सिडिज बेन्ज भन्ने ऊ बेला चाहिँ थाहा थिएन) त्यहीँ लाग्थो । सह–चालक दाइलाई ड्याडीले सानोठिमी झार्दिनु होला भनि मलाई गाडीमा चढाइदिनुभयो । मैले हात हल्लाउँदै ड्याडीलाई बाइबाइ भन्दै साहस देखाएँ । केही बेरमा गाडी चढ्न थाल्यो र म निरन्तर मामाघरतिरको दूरी छोट्याउनतिर लागेँ । 

मीनभवन पुगेर अगाडिको झ्याल पट्किो सिट खालीको भएको अझैँपनि सम्झना छ । किनकी म त्यहाँ नबसी, ड्राइभर दाइको ठीक पछाडिको डन्डी समातेर उभिएको थिएँ । सिटमा बस्दा गाडी भाडा बढी तिर्नु पर्दो हो भन्ने मेरो सोचाइ थियो । सानोठिमीसम्मै उभिएर गएँ । झर्नेबेला ती दाइले भाडा मागिहाले । मैले पनि म सिटमा नबसेका कारण १ रुपियाँ तिरेँ अनि निरन्तर हिँड्न थालेँ, आफ्नो गन्तव्यतिर । 

करिब २० मिनेट हिँड्दा मामाघर पुगिन्थ्यो । मामाघर पुगेर आफू त्यस पटक एक्लै आएको भनि शानसँग सुनाएँ पनि । बेग्लै मज्जा आयो । ठूलै काम फत्ते पारेजस्तो पनि महसुस भयो । 

म मामाघर पुगेको करिब ५ मिनेटपछि ड्याडी पनि त्यहीँ आइपुग्नुभयो । म छक्क परेँ । भेट हुँदा बित्तिकै मलाई बधाई पनि दिनुभयो । र अबबाट एक्लै मामाघर आउजाउ गर्न सक्ने लाइसेन्स पनि दिनुभयो । मैले पनि मुन्टो हल्लाउँदै हुन्छ भनेँ । 

कुरो के रहेछ भन्दा, मलाई त्यो ९ नम्बरको गाडी (मर्सिडिज बेन्ज) को बनावट बारे थाहा थिएन । ड्याडीले मलाई अगाडिको ढोकाबाट चढाई आफू भने पछाडिको ढोकाबाट सुटुक्क चढ्न सफल हुनुभएको रहेछ । म बबुरोले त्यो कुरा कहाँबाट थाहा पाउनु, होइन र ? गाडीबाट झरेर २० मिनेट पनि पछ्याउनु भएको रहेछ । हाम्रा बा निकै बाठा । त्यसै लाइसेन्स पाएको त होइन पो रहेछु बरै । 

त्यो यात्राले आत्मबल भने निकै मजबुत बनाएको थियो । त्यसपछि कैयौँ शुक्रबारहरु मामाघर जाँदा आउँदा सजिलो भयो । त्यसपछि, १२ वर्षको हुँदा पहिलो पटक काठमाडौँदेखि सल्यानसम्मै एक्लै पनि जाने मौका मिल्यो । त्यसपछि भने कतै जाँदा कस्तो व्यवस्था गर्ने भनेर पनि विचार गर्न सकिने भैयो । अहिलेसम्म आइपुग्दा नेपालका ६४ वटा जिल्लाहरु राम्रोसँग घुम्ने मौका पाएको छु । यो सबै आत्मबल त्यही एउटा मामाघरसम्मको यात्राले सफल तुल्याएको छ । यसका लागि ड्याडी, अङ्कल, अनि मामाघरका सब्बैलाई मुरीमुरी धन्यवाद । 


Comments

  1. खैराबाङ मन्दिर गएर आउँदा काे र दसैँमा दमाचौर मेलाको याद ताजै छ होला नि भाई

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सन्देशको बिहे

दशैँलाई फर्केर हेर्दा