एकै छानामुनि राजा र म
नेपालगञ्जमा काम विशेषले गएको थिएँ । आफ्नै खर्चमा गएको भए पक्कै सस्तो होटल खोजेर बस्ने थिएँ । तर कामका सिलसिलामा गएको हुनाले सोल्टी होटलमै राखे मलाई । पहिलो पहिलो चोटि ठूलो होटल छिर्दा 'डरका माहोल' जस्तो लागिहाल्ने, केही नभएपनि मन आत्तिए जस्तो हुने ।
काउन्टरमा नाम रजिष्टर गरी चाबी लिएँ । सरासर आफ्नो कोठा नम्बरभित्र छिरेँ । भूँइमा झोला राख्दै थचक्क खाटमा बसेँ । खाट पनि यति लचकदार की हिउँमा खुट्टा टेकेझैँ ज्यान दुई इन्च भित्रतिर पस्यो । त्यस्तो लचकता महसुस भएपछि खाटलाई अब खाट भन्न मन परेन । बेड भन्न सुरु गरेँ, मनमनै । हिमाल र जङ्गल जाँदा टेन्ट गाढेर ढुङ्गामाथि सुत्ने गरेको मलाई अब यो बेडमा निन्द्रा नलाग्ला की भन्ने पनि डर पैदा हुन थाल्यो ।
ओहो, पिशाब त फेर्नै पो बिर्सिएको रहेछु । अघि काउन्टरमा ट्वाइलेटलाई रेष्टरुम भन्ने की वासरुम भन्ने भनि अलमलमा परेर सोध्न पनि सकेको थिइनँ । अब त ट्वाइलेट छेवैमा छ । बत्ती बालेर भित्र छिरेँ । कति बास्नादार ट्वाइलेट बरै, मेरो परफ्युमभन्दा पनि सान्दार थियो । न्युरोडमा गएर किनेको सक्कली परफ्युम नक्कली परेछ क्यार । ट्वाइलेटलाई पनि वासरुम भनेर सम्बोधन गर्न मन लागेर आयो । बास्नापछि वासरुमको आकार देखेर छक्क परेँ । यति ठूलो जग्गामा त घर नै बन्छ त यार, आफैँसँग बोले । फेरि मुख धुन ऐनाको अगाडि उभिएँ । "टाउकामा कतिवटा कपाल छन् त हँ ?" भनेर गन्न समेत मिल्ने ठूलो बडेमानको ऐना आफैमा ३ आनाको थियो । हैन कहिलेकाँही त ठूला होटल पनि छिर्नै पर्ने रैछ है । बजारमा के कस्ता खाट, परफ्युम र ऐना बेच्दा रहेछन्, कमसेकम अन्दाज हुने रैछ भन्ने मनमा लाग्यो ।
यति सोच्दा सोच्दै समय बितेको पत्तै भएन । यहाँ के के भैसक्यो भनेर केटाहरुलाई सुनाउन पनि त अर्को दुई अढाई घन्टा त गैहाल्छ । "जान न जा, एक्लै खा, एक्लै बस्, खुब छाप्याछस् है" अरे केटाहरुले मलाई । बिचरा उनीहरुलाई के थाहा, भोलिबाट महिना दिन सम्म ४६ डिग्रीमा दिन भरि जङ्गल डुल्न पर्ने । अनि बेडबाट खाटसम्म, वासरुमबाट ट्वाइलेट र लोटासम्म, अनि सुकिलो मुकिलो बाट अमिलो चुकिलो सम्मको यात्रा भनेर ।
खाना खाने समय भयो क्यार । एक महिनाका लागि लगेका ३ जोर लुगा मध्यबाट सबैभन्दा राम्रा लुगा झोलाबाट निकाल्दै मायाले सुम्सुम्याउँदै, ओहो ३ वर्ष अगाडि दसैँमा किनेको लुगा आज बल्ल लगाउने भैयो भन्दै मक्ख परेँ । धन्न बिहीबारको दिन थियो । आइतबार सोमबार भएको भए त नयाँ लुगा पनि लगाउन मिल्दैनथ्यो क्यार शास्त्र अनुसार । दारी कोरेँ । कपाल त उमेर सँगै झर्दै र सकिदै जाँदो रहेछ । नक्कली परफ्युम भएपनि छर्किएँ केही थान 'छिस् छिस्' ।
लिफ्टबाट तल झरेँ । लिफ्टको ढोका खुल्नासाथ केही भिड आफ्नो अगाडि देखेँ । सबैले ढाँका टोपी लगाएका थिए । भिड छिचोल्दै जाँदा बिच्चमा ज्ञानेन्द्र राजा, रानीसहित स-परिवारलाई देख्ने मौका पाइयो । एक मिटर नजिकबाट जाँदै गर्दा सिरिङ्ग भयो । एउटा फोटो सँगैँ खिचाउन मन लागेको त थियो तर बोल्ने भने आएन । ऊ बेला राजा बिरेन्द्र लाई हेर्न भनि बानेश्वर गएको झल्को आएको थियो । म सानै थिएँ, तर ५० मिटर टाढाबाट लामो कालो गाडी गएको थियो । अचेल त कसैले पूर्व राजा भन्दछन्, कसैले राजा । म अहिले त्यसमा अल्झिन चाहिनँ ।
भान्सा भनौँ या भण्डार भनौँ, त्यहाँ छिरेँ । खानेकुराका परिकारहरु देखेरै पेट भरिएजस्तो भयो । लुगा पसलमा छिरेर कुन लुगा किन्ने होला त हँ जस्तै भयो । के चाहिँ खाने होला त ? यो सबै परिकार चाख्न त ३ दिन लाग्न सक्छ, त्यो पनि राक्षस पाराले खायो भने । म त मानब हुँ, मलाई त कम्तिमा ७ दिन लाग्छ । जङ्गलका काम पनि त गर्नु छ फेरी बिरामी भइएला । मनपर्ने खानेकुराहरु चाख्दै हिँडे । ११ औँ परिकारपछि भने मैले चाख्न सकिनँ । जङ्गल बसाइकै कारण एउटा राम्रो बानी भने बसेको थियो, खानेकुरा नफाल्ने ।
एकछिन खाएर हिँड्न निस्किएँ, बजारतिर । भोलिबाट त जिन्दगी यसै पनि अमिलो चुकिलो हुनु नै छ, बरु आजैबाट अलिकति सुरुवात गरिदिऊँ न त भनेर ६ वटा पानीपुरी खाएर फर्किएँ । आफ्नै घर जसरी, छाती फुलाएर डिँडेको सम्झिँदा अचेल हाँसो लाग्छ । छाती फुलाएको पनि के भनौँ, पेट फुलेको वर्षौँ भइसकेको थियो ।
फर्किँदै गर्दा भान्साकै बाहिरपट्टिबाटको बाटो हुँदै फर्किँदै थिएँ । अकस्मात् एउटा सानो प्वाँलबाट राजा ज्ञानेन्द्रलाई देखेँ । टक्क अडिएँ । दुईवटा ईट्टाबिचको सानो प्वाँलबाट मात्र उहाँको अनुहार देखिने अवस्था थियो । सँगै बसेको फोटो त भएन, उहाँको मात्रै भएपनि एउटा फोटो सम्झनका लागि हुन्छ भनेर खल्तीमा हात हालेर मोबाइल झिकेँ । अनि जुम गनुपर्ने थियो । अँधेरो पनि भैसकेको हुँदा फोकस गर्न समस्या भैरहेको थियो । फोटो पनि त्यस्तो सानो ठाउँबाट खिच्नुपर्ने समस्या । बल्लतल्ल फोकस भयो । ठ्याक्कै तस्बिर खिचेँ । मेरो तोरी मोबाइल, फ्लास लाइट अन भयो, उहाँले मेरो मोबाइलतिर हेर्नुभयो के हो भनेर । म आत्तिएँ । म भागेँ । त्यो फोटो कैद गर्न असफल भैयो । कैद भएका भए पनि राजा ज्ञानेन्द्र हुन् या नेपालगन्जका ढाँका टोपी बेच्ने अङ्कल चिन्न सकिँदैनथ्यो ।
कोठामा पुगेँ । अनि मनमनै सोचेँ, "सञ्जोग पनि कस्तो" । बेडमा पल्टिएँ । लचकताले दुई इन्च तल छिरेँ । केही थान महङ्गा सपनाहरु देखेँ । र भोलिपल्ट उठी उही आफ्नै जङ्गली जीवन जारी राखेँ...........
Comments
Post a Comment