कालिकोटको पाहुना

काम र घुमघामको शिलशिलामा धेरैपटक कर्णाली पुगेको छु । हरेकपटक कर्णालीका फरक फरक बस्तीहरु छिचोल्दा मलाई सधैँ लागिरहन्छ की कर्णालीभित्र पनि धेरै कर्णालीहरु छन् । डोल्पा पुग्दा देखेको कर्णाली र कालिकोट पुगेको कर्णालीले एउटै क्षेत्रभित्रका सामाजिक, साँस्कृतिक र भौगालिक विविधताले कर्णालीभित्रको सम्पूर्णता महशुस हुन्छ । कर्णालीमा अभावभन्दा कैयौँ ज्यादा सम्भावनाहरु देखिन्छन् । मानौँ देशको एउटा कुनामा कर्णाली चुपचाप लुकेको छ, त्यहाँ पुग्नेलाई मात्रै कर्णालीको वास्तविक चित्र छर्लङ्ग हुँदो हो । सुन्नेलाई कथा जस्तो पनि लाग्न सक्छ । 

२०१९ मा कालिकोटको सदरमुकाम मान्म पुगे पनि खासै घुलमिल हुन अनि धितमरुन्जेल बस्न पाइएको थिएन । बस् एकैछिन कालिकोटको मान्म पुगेर देखेको त्यस ठाउँलाई, कालिकोट पुगेको छु भन्नु त अलि अन्याय नै हुन्छ । तर त्यसको केही वर्षपछि फेरी २०२२ मा कालिकोट जाने मौका जु¥यो । यो पटक पुग्नुपर्ने ठाउँ मान्म बजारभन्दा धेरै टाढा थियो । भौगोलिक हिसाबले कठिन ठाउँ हो भन्ने त बुझेको थिएँ पहिले नै । दूरी छोट्याउनका निम्ति काठमाडौँबाट सुर्खेत प्लेनमा जाने निधो गरियो । बिहान एउटा मात्र प्लेनजाने भएकाले छिटै एयरपोर्ट पुगेँ । ८ः३० मा अवतरणपछि सुर्खेतबाट जितेगडा जाने गाडीमा बसेँ । सुर्खेतबाट पहाडहरुतिर उक्लिँदै दैलेख हँुदै कालीकोट पुगिन्छ । गाडीले जितेगडा पुग्न पनि लामै समय लगायो । साँझ ६ः३० मा जितेगडा पुग्दा पानी पर्ने सङ्केत देखिन्थ्योे । जितेगडा दुई कर्णाली नदीहरुको  संगम भएको दोभान रहेछ । छेवैमा झरना पनि कलकलाइरहेको थियो । त्यही बाटो हँुदै  झिसमिसेमा म बास बस्ने ठाउँ खोज्नतिर लागेँ । नजिकै बस्तीजस्ता देखिन्थे । सबै यात्रु त्यतैतिर लागिरहेका थिए । म पनि कसैलाई केही नसोधि उनीहरुको पछिपछि लागिरहेको थिएँ । 


झोलुङ्गे पुलवारि एउटा बस्ती रहेछ । कोही त्यहीँ नै बसे । मलाई भने त्यहाँ बस्न अलि असजिलो लाग्यो । टिनैटिनको बस्ती, जसमा ढोकापनि थिएनन् । एकजना दाजुलाई म त्यहाँ नयाँ भएकाले कता बस्दा ठीक होला भनि सोधिहालेँ मैले पनि । “तपाईँकन काँ जानुहुनियो” भन्दै दाईले मलाई सोध्नुभयो । मैले सान्नी त्रिवेणी गाउँपालिकासम्म जानुपर्ने सनाएँ । उहाँले मलाई त्यहाँ नबसी बिस मिनेट हिँडेपछि लालीघाट आइपुग्ने र त्यहीँ एउटा राम्रो होटलमा बस्ने सल्लाह दिनुभयो । उहाँपनि त्यहीँ बसि भोलि बाजुरा जाने भनि सुनाउनु भयो । मुन्टो हल्लाउँदै म फेरी पछि लागेँ । 

एउटा होटल खोजी बस्नु भन्दै उहाँ लालीघाट बजारबाट ओझेल हुनुभयो । म पनि एउटा होटेलमा छिरेँ र बस्नलाई कोठा छ, छैन सोधेँ । दिदीले मलाई त्यहाँ बस्ने प्रबन्ध गरिदिनुभयो । बिस्तारै अरु मान्छेहरुपनि थपिँदै जानुभयो । होटलमा थपिँदै गएका सबै मान्छेहरु एउटै खाटमा सुत्नुपर्ने रहेछ । म अलिअनकनाएँ । कोठामा एउटा लामो काठको फ्लेक थियो र सबैजना त्यसमै बसेका थियौँ । असजिलो महसुस गरिरहेको थिएँ । मैले त्यहाँको साउनीलाई अर्काे कोठा भए नभएको बारे सोधेँ । उहाँले मलाई सहयोग गरिदिनुभयो र नयाँ कोठामा लगिदिनुभयो । ठूलै पानी परिरहेको थियो । बत्ती नआएको पनि ३ दिन भैसकेको रहेछ । खाना खाएर म ८ बजे नै निदाएँ ।

असजिलो निद्राबाट अचानक ब्युझिएँ्, बिहान भएजस्तो लाग्यो । कोठमा मधुरो सोलारको बत्ति बलिरहेको रहेछ, अनि हल्लाखल्ला पनि थियो । मोबाइल खोजेर समय हेरेँ । दश बजेको थियो । तर रातिकै रहेछ । अझँै रात कटाउन त बाकी नै थियो । त्यस कोठामा अब म एक्लैबाट सात जना भएका रहेछौँ । लस्करै लामबद्ध सुतेका रहेछौँ । पूरै आँखा नखोलि साना चिम्सा आँखा पारेर त्यहाँको गतिविधिहरु नियालेँ एकछिन । कोही गीत गाउँदै थिए सानो स्वरमा, कोही साउथ इन्डियन फ्ल्मि हेर्दै थिए ठूलै आवाजमा । उनीहरुपनि आफैँमा अन्जानजस्ता देखिन्थे । थाकेर पुगेको शरिर अब फेरी गहिरो निन्द्राको व्यग्र प्रतिक्षामा थियो । जसोतसो निदाएछु । त्यसरी सुतेको म पहिलो चोटी थियो । 



बिहानै आँखा खुल्यो । अब भने साँच्चिकै बिहान भएको थियो । सात बजे नै काउन्टरमा पुगेँ । धेरै गाडीहरु भएतापनि न कोही गाडीवालाले ताने, न कसैले बोलाए । काठमाडौँको बल्खुमा भएको भए त्यतिन्जेल त कलेज जान हिँडेका मान्छेलाई पनि हेटौँडा पठाइदिन्छन् अरे । म जाने ठाउँ नजिक रहेछ, त्यहाँबाट करिब १३ किलोमिटर कच्ची बाटो । त्यहीँसम्मकालागि मात्र भनेर गाडी नजाँदा रहेछन् । कसैले मलाई पछाडीबाट “ओ हेलो” कहाँ जाने भनेर सोधे । मैले सान्नीघाट भनेँ । गाडीमा बस्नुभन्दा अघि टिकट काटेँ अनि बसेँ । नौ बजेको थियो । एकजना मान्छे पुगेको थिएन, र त्यसकालागि हामी तीन घण्टासम्मै कु¥यौँ । बाह« बजे त्यहाँबाट हिँड्याँै । करिब साढे दुई घण्टापछि म सान्नीघाट पुगेँ । एकजना केही चिनजानको दाइलाई लिन बोलाएको थिएँ । त्यहाँबाट करिब तीन घण्टा हिँड्नुपर्ने रहेछ । बिचबिचमा अघिल्लो रातमा आएका आएका पहिराहरु छिचोल्दै अनि गफिँदै अघि बढ्यौँ हामी ।

 


पुग्दाबित्तिकै भाउजूले मलाई सोध्नुभयो “तपाईँकन फोनै लाग्यानाइँ । हँडीकन आउनुभयो ?” सान्नीघाटसम्म गाडीमा र त्यहाँबाट हिँडेर आएको सुनाएँ । दाइले पनि भाउजूलाई “हेलो” भनि बोलाउँदै खाजा खुवाउन भनि भन्नुभयो । खाजा खाएपछि दाइको छोराले मलाई गाउँ घुमाउन लैजाने भयो । ठाउँ रमाइलो थियो, जताततै हरियाली थियो । धेरैजसो भने पहिरोको डर थियो । घुम्न जाँदा दाइको छोरालाई कोही ठूलै मान्छेले “हेलो, कता जान लागिस् ?” भनि सोध्नुभयो । घुम्न जान लागेको हामी भनि अलि पर सम्म पुग्यौँ । भाइ एकदमै उत्सुक रहेछ । जानेका कुराहरु पनि धेरै रहेछन् । नजानेका कुरा मलाई सोध्थ्यो र म जानेको जति सिकाउँदै र ऊसँगपनि सिक्दै सँगै हिँडिरहेका थियौँ । 

बाबुलाई केही सोध्दा उसले नजानेका कुराहरुलाई मुस्कुराउँदै “म हुनु थाहा भएन दाइ” भनि अक्सर फर्काउँथ्यो । “हाम्मो गाउँमा त......” बाट सु्रु गरेका उसका कुराहरु ज्यादै रमाइला हुने गर्थे । गफैगफमा साँझ पर्यो, हामी फकियौँ, अनि खाएर सुत्यौँ । 

भोलिपल्ट पनि दाई अनि उहाँको छोरासँग उहाँहरुको पुरानो घर हेर्ने निहुँमा त्यहाँबाट केही टाढा घुम्न निस्कियौँ । म पुगेको ठाउँमा “हेलो” भन्ने शब्द एकदमै प्रयोगमा आउने शब्द रहेछ । सायद अलिअलि मात्रै भित्रिएको संचार सुविधाले मान्छेहरुको जनजीवनमा धेरै हेरफेर नगरेपनि आम भाषा मै परिवर्तन ल्याइदिएको थियो । कुनै पनि समाजमा पपुलर कल्चरको प्रभाव र विकास यसरी नै हुन्छ होला । दाइले आफ्नो छोरालाई बाहेक प्रायः सबैलाई अनि परिवारका बाँकी सदस्यहरुलाई पनि त्यही शब्दले बोलाएको सुनेको थिएँ । बाँकीले पनि त्यही नै गर्दा रहेछन् भनि गाउँ डुल्दा थाहा पाएको थिएँ । 





प्रायःले मायाले बोलाएर खाजा खाना खुवाउनुहुन्थ्यो । गाउँमा बस्दा छुट्टै आनन्द आउँछ पक्कैपनि । फरक किसिमको वातावरण, माया, स्नेह अनि सद्भावहरुले ती सम्बन्धहरुलाई अझै गाढा बनाइरहेका हुन्छन् । कालिकोटको साँस्कृतिक जीवन अझ नजिकबाट अवलोकन गर्न पाइयो । फेरीपनि पुगेको कर्णाली कैयौँ सम्झना बनेर काठमाडौ आइपुगिरहन्छ । अहिलेको समयबाट धेरै पर छुटेको कालिकोटको झल्को आउनेबित्तिकै मनमा ‘ओ हेलो’ गुन्जिन थाल्छ ।



Comments

Popular posts from this blog

सानोठिमी

सन्देशको बिहे

दशैँलाई फर्केर हेर्दा