एकै छानामुनि राजा र म
नेपालगञ्जमा काम विशेषले गएको थिएँ । आफ्नै खर्चमा गएको भए पक्कै सस्तो होटल खोजेर बस्ने थिएँ । तर कामका सिलसिलामा गएको हुनाले सोल्टी होटलमै राखे मलाई । पहिलो पहिलो चोटि ठूलो होटल छिर्दा 'डरका माहोल' जस्तो लागिहाल्ने, केही नभएपनि मन आत्तिए जस्तो हुने । काउन्टरमा नाम रजिष्टर गरी चाबी लिएँ । सरासर आफ्नो कोठा नम्बरभित्र छिरेँ । भूँइमा झोला राख्दै थचक्क खाटमा बसेँ । खाट पनि यति लचकदार की हिउँमा खुट्टा टेकेझैँ ज्यान दुई इन्च भित्रतिर पस्यो । त्यस्तो लचकता महसुस भएपछि खाटलाई अब खाट भन्न मन परेन । बेड भन्न सुरु गरेँ, मनमनै । हिमाल र जङ्गल जाँदा टेन्ट गाढेर ढुङ्गामाथि सुत्ने गरेको मलाई अब यो बेडमा निन्द्रा नलाग्ला की भन्ने पनि डर पैदा हुन थाल्यो । ओहो, पिशाब त फेर्नै पो बिर्सिएको रहेछु । अघि काउन्टरमा ट्वाइलेटलाई रेष्टरुम भन्ने की वासरुम भन्ने भनि अलमलमा परेर सोध्न पनि सकेको थिइनँ । अब त ट्वाइलेट छेवैमा छ । बत्ती बालेर भित्र छिरेँ । कति बास्नादार ट्वाइलेट बरै, मेरो परफ्युमभन्दा पनि सान्दार थियो । न्युरोडमा गएर किनेको सक्कली परफ्युम नक्कली परेछ क्यार । ट्वाइलेटलाई पनि वासरुम भनेर सम्बोध...