बढ्दो बाढीको बर्बादी.....
विज्ञ त म होइन, तर कक्षाकोठामा थोर बहुत पढाई भने अवश्य नै भएको थियो । खैर घटना त घटि नै सकेको छ । हामीले अब दुःख मनाउ बाहेक यो घढीमा केही पनि गर्न सक्ने अवस्था छैन । तर, सिक्न र व्यवहारमा उतार्नका लागि धेरै कुराहरु छन् । अहिले नसिके कहिले ?
पानी पर्नु प्राकृतिक कुरा हो । कहिले काहीँ धेरै पानी पर्नु र कहिले पर्दै नपर्नु भने केही अप्राकृतिक कुरा हुन् । त्यसका पछाडि कारण भने पक्कै लुकेका हुन्छन् । बाढीपहिरो आउनुमा सबैभन्दा ठूलो कुरा पानीको श्रोत हो । कति ठूलो पानी पर्यो र कति समयका लागि पर्यो भनि सामान्यतया पानीको मात्राको आंकलन गर्न सकिन्छ । रह्यो पानी कता कता गयो त ? बाढी नआउनका लागि प्रायः जमिन भित्र माटोको सतहहुँदै पानी भित्र पस्नु पर्दछ । अब सोचौँ काठमाडौँमा माटोको सतह कहाँ र कति नै बाँकी होला र ?
अर्को कुरो साँघुरिएको खोलाको बाटो । गाडीको एक लेनको बाटोमा सामान्यतया एउटा मात्र गाडी अटाउँछ । त्यस्तै खोलाको पनि लेन अर्थात् क्षेत्र निर्धारण हुन्छ । आधा लेनको बाटोमा गाडी हिँड्न नसके झैँ खोला पनि ठूलो पानी परेको अवस्थामा ठाउँ खोज्दछ । एक जनाले विवाह गर्छ, सन्तति बढ्दै जाँदा सानो खाटबाट ठूलो खाट किन्नै अवस्था आउँदछ । प्रकृतिको नियम हो, अझ भौतिकशास्त्रको नियम हो । आयतन बढ्दै जाँदा त्यसले ओगट्ने क्षेत्रपनि बढ्दै जान्छ ।
मेरो पहाड घर जानका लागि अहिले केही थोक बाटाहरु छन् । एकै ठाउँ पुग्ने थुप्रै बाटाहरु । यो सबैका गाउँमा लागू हुने नै कुरा भैसकेको छ । त्यसले गर्दा माटो निकै कमजोर हुँदै गइरहेको छ । हामीले पहिरो शब्द प्रयोग गर्दा पानीको मात्र याद गर्छौँ । तर, यसरी नै बाटो खन्दै जाँदा गर्मीका बेला पनि निकै ठूलो पहिरोको जोखिम बढ्दै जान्छ । माटोको एउटा नियम, गर्मीमा विस्तार हुनु र जाडोमा खुम्चिनु हो । यस्तैले, माटोले एक अर्कालाई समात्न छोड्छन् र पहिरोमा परिणत हुन्छन् ।
यो नियम अहिलेको प्लानिङ् माथि पनि लागू हुन्छ । कस्तालाई प्लानिङ्मा बदल्ने र कस्तामा घर बनाउने भनि सरकारका नियम छैनन् ।
Aerial image of the Kathmandu valley | Photo: AP/Gopen Raiअब प्रकृतिको बिरुद्धमा त केही गर्न त सकिँदैन । तर रोकथाम भने जरुर गर्न सकिन्छ ।
१. पानी परेका बेला पानीलाई जमिनभित्र कसरी हुन्छ भित्र पसाउन खोज्ने । भित्र पसाउन नसके पानी संरक्षणका लागि साना साना खाल्डा बनाउने । तर, ती खाल्डाहरु भने बारिनु पर्दछ । अहिले पनि थुप्रै बच्चाहरु त्यस्तै खाल्डामा गई ज्यान गुमाउने गरेको छन् ।
बजारमा क्षेत्रमा भने ढुङ्गाका ब्लकले पिचभन्दा निकै धेरै पानी सोसेको भने अध्ययनले देखाएको छ ।
२. हामी सधैँजसो रुख रोप्न मात्र अघि बढ्छौँ । रुख रोप्नु राम्रो कुरा हो । तर कतिपय ठाउँमा रुख भन्दा घाँस रोप्दा निकै पानी सोस्ने गर्दछ । यस्तामा विज्ञको सल्लाह लिुन एकदमै उपयुक्त हुन्छ ।
३. अव्यबस्थित बजारीकरण नियन्त्रण भन्दै केही दशक अगाडिदेखिका पत्रिकाहरुमा हामी मज्जाले भेट्न सक्छौँ । तर त्यसमा भने केही थान गोष्ठी बाहेक केही गर्न सकेनौँ ।
४. जथाभाबी बाटो खन्न छोडौँ ।
यस्ता घटनाहरुलाई कतिपय विज्ञले जलवायु परिवर्तनको असर भनेर मात्र छोडिदिनु हुन्छ । नीति बनाउन सघाउन सक्ने तहमा पुगेका उहाँहरु यसपालि त्यति नै भनेर नछोडौँ । रोकथामका उपायहरु पनि धेरै हुन्छन्, अध्ययन गरौँ, ती उपायहरुलाई अबिलम्ब व्यवहारमा उतार्दै जाऔँ ।
यस दुःखद घटनाबाट निकै सिक्नु पर्ने देखिन्छ । विपद् व्यवस्थापन निकै कमजोर देख्यौँ । त्यो पक्षमा सरकारले बजेट छ्ट्याओस् । खैर, अब दशैँ नजिकिँदै छ । उही त हो, हामीलाई मासुको लतले सधैँ केही न केही बिर्साइरेको हुन्छ । यसपालि भने त्यस्तो नहोस् ।
आफ्ना सपनाहरुलाई पूरा गर्न नपाउँदै यस बिपत्तिले संसार त्याग्नुभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली, तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना । यस दुःखद घडीमा आफूलाई सम्हाल्ने शक्ति प्राप्त होओस् ।
Comments
Post a Comment