दशैँलाई फर्केर हेर्दा
दशैँ आउन अब १०० दिन बाँकी भएपछि भित्ते पात्रो मार्फत गन्ती गर्न सुरु हुन्थ्यो । सानैमा घर छाडेका हामी तीन जना (ड्याडी, अङ्कल र म) काठमाडौँ आएका थियौँ । ड्याडीले सायद मनमनै गन्नुहुँदोहो, हामी दुई भने दिन नबिराई गन्ती गथ्यौँ । घर जाने अब भोलिपल्ट जस्तो हुँदा भने रातै भरि निन्द«ा पर्थेन, मलाई आफूुसँग लान छुटाउँछन् की भनेर । घर पुग्न जसोतसो त्यो बेला ३ दिन लाग्थ्यो ।
घर जान पाउँदा को नै पो खुसी हुँदैन होला र ? हामी तीन पनि त्यति नै खुसी हुन्थ्यौँ । सबैकी आफ्नी आमा घरमै हुनुहुन्थ्यो । गुँदपाक, मीठा चकलेटहरु र कही थान लत्ताकपडा लिएर जाँदा घरमा सबै खुसी हुन्थे । सायद केही नलगेका भएपनि खुसी हुनेथिए । दशैँ आउने, घरका मान्छे आउने, जमघट हुने, अहो, त्यो पो आनन्द ।
एका बिहानै बाजे नुहाउन जाने, बज्यै पानी लिन जाने, मम्मी घाँस काट्ने जाने । केही बेरमा सबै फर्केर आउँदा पकाउने दाउरा पनि सँगै आउँथ्यो । अनि पाक्न सुरु हुन्थ्यो । बुढापाकाले भन्ने गर्छन् की आगोमा पकाएको सारै मीठो हुने भन्दै । म बुढापाका भैसकेको त थिइन तर राइस कुकरमा भन्दा मीठो भने जरुर पाक्थो ।
कुनै एकदिन सल्लाह गरेर बिहानै ४ बजेतिर बज्यै, मम्मी, ठूलीआमा, लगायत गाउँबाट घर लिप्न पोत्नका लागि रातो माटो लिन जानुहुन्थ्यो । हामी त्यो दिन पुराना र धुन ठिक्क परेर बसेका लुगाहरु खोजेर लगाउन तयारी गर्दै गथ्र्यौँ । यसमा सबै भन्दा अघि सर्ने चाहिँ मम्मी अनि कान्छा काका । केही मिनेट त गोबरको गन्ध नाकैबाट सरर छिरेर फोक्सो हुँदै दिमागमा पुगेर ओहो गन्हायो जस्तो हुन्थ्यो । बिस्तारै गन्हाउन छोड्थ्यो र साँझसम्म त जिउँभरि माटो अनि गोबरका छिटाहरु तित्तरबित्तर भैसकेका हुन्थे । त्यही बास्ना मिठो लाग्थ्यो । त्यो बेलाको सम्झनाले यस समयका क्यामराका फोटोहरुलाई त पक्कै मात खुवाउँछ, जितिदिन्छ ।
हाम्रो गाउँमा मासु खान भने दशैँ कुर्न पथ्र्यो । थाहा छैन किन, तर, प्रायः ले दशैँका लागि भनेर खसी पाल्ने गर्थे । सायद अलिअलि बसाइ सराइ भनौँ या कामका शिलशिलामा कोही बाहिर जाने क्रम थियो । दशैँमा त सबै मिलेर बसेर खाऔँ भन्ने हुँदोहो सायद ।
दशमीको दिन आउँथ्यो । त्यो दिनसम्म पनि खेत बारीका काम सकिएका हुन्नथे । हामी प्रायः राति टीका लगाउँथ्यौँ । दुई कारण थिए त्यो बेला । १. मान्छे भएका बेला काम सक्नुपर्ने चटारो । २. टाढाटाढा बाट घर आउनेलाई कुर्ने । दुबै कारणहरु जायज थिए । कोही परिवारको सदस्य आउने खबर पाउँदा हामी दिनभरि कुथ्यौँ ।
अष्टमीका दिन दमाचौरमा मेला लाग्थ्यो । मिठा मिठा जलेबी (जेरी) पाउँथ्यो त्यहाँ । म मान्छे भेट्न र जेरी खान भनेर मेलामा जान्थेँ । धेरै मान्छे भेटिन्थे त्यसदिन । अष्टमीमा प्रायः जेरी सम्झनेमा बसन्त दाइ र श्याम भान्दाइ हुनुहुन्थ्यो, कुनै दिन जेरीको प्रसंगका बारेमा पनि लेख्ने छु । प्रायःले मलाई सानोमा खेलाएको भनि भन्दथे । सायद सानो भएर होला, मलाई त्यति सम्झना भने हुन्थेन । खेलाएकामा भने धन्यवाद सम्म भन्ने गर्थेँ ।
हामी प्रायः दशैँमा टीका थाप्ने, एकै घरमा धेरै हुन्थ्यौँ । हाम्रो टीका भने पूर्णिमा सम्मै चल्थ्यो । पहाडी भूभाग, टाढाटाढाबाट मान्छे आउनुपर्ने हुन्थ्यो, त्यसैले होला सायद ।
बत्ती थिएन, टीकाको दिन भने राति टीका लगाउने गरेकाले टुकी र लाल्टिन छ्यापछ्याप्ती । अनि गलैँचा पनि धेरै चाहिने । टीकामा हाल्नका लागि भनेर दही प्रशस्त जमाउने । आफूभन्दा कान्छो सबैलाई टीका लगाइदिनु पर्ने नियम । लाइन हुन्थ्यो, लगभग सानो हाटबजार जस्तो । जेष्ठताका हिसाबले सबैभन्दा धेरै टीका लगाइदिनुपर्ने भने बाजे अनि बज्यैलाई हुन्थ्यो ।
सबैभन्दा छिटो भने साइली फूपुको परिवार आइपुग्थ्यो । त्यसैले प्रायः सबैले गाउँबाट पारी पिपलनेटातिर दिनभरी आँखा डुलाउँथ्यौँ । अनि क्रमसः ठूली फूपुको परिवार र बाँकी जो आइपुग्नपर्ने उहाँहरु ।
अझैँ पनि २०७४ सालको दशैँ सम्झना छ । त्यो दशैँ निकै उत्कृष्ट रह्यो । उसै त हामी दशैँमा धेरै हुन्थ्यौँ । तर त्यो वर्ष दशैँका दिन झण्डै ६० जना थियौँ भने पूर्णिमासम्मै जोड्दा त करिब ८० देखि ९० । रमाइलो नहोस् पनि कसरी ? सबैले सबैलाई टीका लगाइदिने अनि निधार निकै भरिभराउ । मेरो एकजना काठमाडौँ बस्ने साथीले गाउँ भरिको चामल एकैदिन निधारमा राख्छस् भनि जिस्काउँथ्यो, हाहाहा ।
वर्ष बित्दै जाँदा हामी पनि बढ्दै गयौँ । बसाइ सराइ हाम्रो घर त के, नेपाल लगायत पूरै विश्वभरि जल्दोबल्दो विषय छ । भन्छन् नि बच्चा बेलामा नै हो चाडवाड विशेष त । घर घर डुल्ने, मामाघर जाने, रमाइलो गर्ने । जे होस्, त्यो बेलामा मनाएको दशैँ त सम्झनलायक भन्दा पनि निकै माथी छ । समय प्रगतिशिल त छ, तर, चाडपर्वले मानिसमा जीवनमा भने कति धेरै सकारात्मक उर्जा प्रदान गर्दछ । त्यही उर्जा नै जीवनमा सम्झन लायक क्षण बनिदिन्छन् ।
चाडबाड सव्य र भव्य तरिकाले मनाऔँ । सबैमा २०८१ को दशैँको शुभकामना ।
Comments
Post a Comment