अलविदा.....

यो एक जङ्गली जनावरको परिवारको कथा हो । एकाबिहानै आज उसकी आमालाई कुनै गाडीले ठक्कर हानी घाइते बनाएको थियो । सडकको किनारमा रगतका थोपाहरु चुहाएकी आमा सिधै गएर दलदलमा फसेकी थिई । भाग्य पनि कति उराठलाग्दो, त्यही गिलो माटोको दलदलमा फस्न पुगेकी । करिब ४ – ५ महिनाका जस्ता देखिने उसका दुई बच्चाहरु आमाका समीपमा गई बसेका थिए । बिचरा न त बोल्न सक्दथे, न त दलदलबाट निकाल्न नै सामथ्र्य राख्दथे । सक्थे त केबल मलिन अनुहारले आमालाई हेर्न । उनीहरुका आँखामा आमाप्रति अपार माया देखिन्थ्यो । आमाका आँखामा उनीहरुप्रतिम ममता । अझ यो अवस्थामा त झन् धेरै ममता । 

सबेरै टेन्टबाट निस्किएर हामी काममा जाँदै थियौँ । त्यतिबेला करिब बिहानको ६ः३० बजेको हुँदो हो । एकैछिन गाडीमा के बसेका थियौँ, त्यस ठाउँमा पुग्यौँ । गाडी रोक्यौँ र एकछिन नियाल्यौँ निरन्तर । सुरुमा त जनावर देखेर खुसी भएका थियौँ । तर हाम्रो खुसी लामो समयसम्म टिक्न सकेन । हामीपनि उसका बाच्छाहरुजस्तै भएका थियौँ, केही गर्न नसक्ने । बाच्छा र हामीमा केबल बोल्न सक्ने क्षमताको मात्र फरक थियो । त्यसैले हामीले उद्दारका लागि भने खबरसम्म गर्न सक्यौँ । त्यसपछि आफ्ना काम पछ्याउँदै जङ्गलतिर लाग्यौँ । 

साँझ पर्दा पनि आमा कता जानुभयो र किन नफर्किनुभएको उसले थाहा पाउन सकेको थिएन । बिहानसम्म त सँगै भएकी आमालाई देखेर ऊ अत्तालिएको थियो, एकदमसित । अहिले त उही आमा पनि देख्न पाएको थिएन । समीपमा हेर्न पाएको थिएन । यो हामी बेलुका ७ बजे फर्कँदाको दृश्य थियो । मलिन अनुहार बनाएको थियो । हराएको थियो । लाग्थ्यो कसैलाई कुरिरहेको थियो । उसलाई थाहा थिएन, जति हामीलाई त्यो बेला थाहा भएको थियो । ऊ टुहुरो भएको थियो । दुई बच्चाहरुमध्ये अहिले उसलाई मात्र देखेका थियौँ । बोली फुट्ने भएको भएपनि उसका मुखबाट रोदनका कुरा नै सुनिन्थ्यो सायद, जति उसको मुहार भावुक देखिन्थ्यो । सायदै ऊ पनि बाँच्न सक्ने अवस्थामा थियो । त्यति सानो उमेरको जनावरको जङ्गली बासस्थानमा अनि जङ्गली जनावरको सेरोफेरोमा बाँच्न निकै नै मुस्किल थियो । हामी त्यो दृश्य खप्न नसकी त्यहाँबाट बिदा भयौँ । 

अहिले पनि उसको मलिन अनुहार झलझली याद आउँदैछ, उसले आमा खोजेको अनुहार । गाडी अञ्जानमा, जनावरका अञ्जानमा, दुबै अञ्जानमा घटना हुन पुग्दा यहाँ एउटा परिवारको बिछोड भएको थियो ।   

त्यसैले सवारी साधन चलाउँदा ध्यानपूर्वक चलाउने गरौँ । यहाँ कहिले मान्छे बितिजान्छन् त कहिले जनावर । खैर, चाहे मान्छे होस् या जनावर, यहाँ, कोहीले, कसैलाई, कतै, अवश्य पर्खिरहेको हुन्छ नै, भित्रै मनदेखि, मायाले......

Comments

Popular posts from this blog

सानोठिमी

सन्देशको बिहे

दशैँलाई फर्केर हेर्दा