देशलाई हेरियो, देशले पनि हेरोस्....

 "मन बिनाको धन ठूलो की धन बिनाको मन........"

"कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा........."


प्रायः बिहानैपख, आँखाहरु यिनै गीतहरुले खुल्ने गर्दछन् । कतिपय चोकहरुमा बज्ने यी गीतहरु, लगभग सबैलाई याद हुने रहेछन् । गीतहरु मात्रै किन, हामीलाई त यी गीत गाउने मान्छे पनि याद छन् । ठूलो स्पीकर, हातमा एउटा सहयोगी लौरो, प्रायः सबैसँग आँखामा लगाउने चस्मा, अनि सुमधुर गीत । धेरैजसो आँखामा समस्या परेका मान्छे देखिन्छन् । बेलैमा स्वास्थ्य सेवा अथवा अन्य सहयोग पाएका भए आज प्रायः मज्जाले हिँडडुल गर्न सक्थे सायद । अहिले पनि कतिपय बिरामी त आँखा अथवा अन्य अङ्गहरुको बेलैमा उपचार नपाएर अहिले हिँडडुल पनि गर्न सक्ने अवस्थामा छैनन् । कोही हिँडडुल गर्न सक्ने अवस्थामा भएपनि कामको खोजीमा सहयोगीका साथमा यताउता जानुपर्ने बाध्यता छ ।

काठमाडौँको बसाई, सबैलाई एउटै महङ्गी न हो । अलिकति बस्ने छतको रकम केही तल माथि त पक्कै छ, तर बाँकी ? बाँकी त सबै समान न हो । आफ्ना गाउँ ठाउँमा कसैले नहेरेपछि काठमाडौँ तथा ठूला सहरमा जानुभन्दा बाहेक अरु समाधान के थियो होला र ? 

                                                  Image Credit: Tom Caroll Photography

कर्णाली, सुदूरपश्चिम तथा देशका अन्य बिकट गाउँहरुका मानिससँग न त पैसा छ, न त स्वास्थ्य सेवा नै । छ त केबल एकथान नेपाली नागरिकता । कति मान्छेहरु त नागरिकतामा उमेर बढाएकामा खुसी छन्, उमेर भन्दा अगावै बृद्धभत्ता खान पाइने भैयो भनेर । त्यतिन्जेल न त पैसा कमाउन सकिने वातावरण छ न त केही सुविधाको चाँजोपाँजो । प्रायः मान्छेले आफ्नो कामबाट अवकाश लिने औसत उमेर ६० रहेको छ । तर हाम्रामा केही थान हजारका नोट कमाउने उमेर ६८ देखि माथि । त्यसैले त नेपाल भिन्न छ, अरु भन्दा नितान्त फरक ।

सरकारले केबल आफ्नालाई हेर्ने जनगुनासो छ । आफ्ना भन्नाले केबल आफ्ना । त्यसमा जनता कम र झुण्ड बढी देख्ने गर्छु । त्यो दीर्घकालीन अवस्थामा पक्कै राम्रो होइन । सामान्य भन्दापनि सामान्य कुराहरु पनि सरकारले दिन सक्दैन, दिन सक्छन् त केबल ठूला सपना र अपच गफ । भाषणहरुले मात्र पेट भरिने भए किन जनताहरु अवसरको खोजीमा अन्यत्र चाहार्दाहुन् ? सीमित १–२ प्रतिशतले रजाँइ गरिरहेका बेला बाँकी किन असन्तुष्ट छन् ?

कारण आधारभूत आवश्यकता नपाएरै हुन् । न स्वास्थ्य, न खानेपानी, न शिक्षा, न बिजुली बत्ती । म आफैँ, शहरबाट अलिक पर जाँदा, ढुङ्गे युग देख्दछु ।  त्यै ढुङ्गाले अचेल दुई चीज चल्दैछन्ः सदन र जीवनयापन । ती दुबै असफल छन् । यो लेख तयार पारिरहँदा, अरु दुई चार थान सरकार परिवर्तन नहोलान् पनि भन्न सकिँदैन । 

दिनेलाई भन्दा माग्नेलाई लाज हुन्छ अचेल । धेरै कुरा माग्न त सरकारको दयनीय अवस्था र चालामालाले त पक्कै दिँदैन । तर कमसेकम, पढ्न नपाएकालाई पढ्न देऊ, पढेकालाई अघि बढ्न देऊ । आधारभूत आवश्यकताहरु पूर्ति गरिदिँदैमा देश कङ्गाल बन्दैन । स्वास्थ्य छ त जनशक्ति छ, शिक्षा छ त उज्यालो छ । उज्यालाहरुमा उत्पन्न भएका जनशक्ति हारेका कहाँ छन् र ? अघि नबढेका कहाँ छन् र ? त्यसेले, हरेक दिन सुत्न अगाडि केही गर्न नसकेतापनि प्रार्थना गर्छु की देशले आफ्ना जनताहरुलाई केबल नागरिकता नबाँढीदेओस्, देओस् केही मलमपट्टीहरु, आशाका किरणहरु अनि अवसरहरु.......


- सन्देश लामिछाने

Comments

Popular posts from this blog

सानोठिमी

सन्देशको बिहे

दशैँलाई फर्केर हेर्दा