प्रिय Arend दाई.....
पहिलो चोटि म चरा हेर्न गएको २०१४ मा हो । नेपाल पंक्षी संरक्षण संघको आयोजनामा एक दिने चरा भ्रमणमा गोदावरीदेखि पनौतीसम्म चरा अवलोकन गर्नका निम्ति हिँडेका हामीले धेरै चराहरु हेर्ने मौका पाएका थियौँ । तर, म नयाँ भएका कारण मैले चराको च चिन्न त के भेट्टाउन पनि सकेको थिइनँ । चराको किताब र दूरबिनको महत्त्व मलाई त्यसबेला लागेको थियो ।
आफूसँग चाहिने सामग्री नभएका कारण म त्यसपछि महिनौँ हराएँ । २०१५ तिर साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनले चन्द्रागिरीमा एक महिने वन्यजन्तुको फिल्ड सर्भे योजनामा म पनि दुई मध्ये एक स्वयंसेवकको रुपमा काम गर्ने मौका पाएँ । बिहान चरा हेर्ने र चिन्ने, तथा चरा सँगसँगै अरु बन्यजन्तु पनि नछुटाउने, साथै साँझमा जङ्गलमा क्यामरा ट्रयाप राख्ने कामले थुप्रै काम सिकेको अनुभूति भएको थियो । आफ्नै दूरबिन झुण्ड्याउन अनि आफैँले चरा चिन्न निकै सहज हुन थालेको थियो । हरि बस्नेत दाई, हेम बहादुर कटुवाल दाई र कञ्चन पराजुली दाईले संस्थाको तर्फबाट उपहार दिएको चराको किताबले मलाई झन् हौस्याएको थियो ।
अब बाँकी थियो आफ्नो दूरबिन किन्न । विद्यार्थी कालमा त्यस्तो महङ्गो कुरा किन्न पैसा थिएन । त्यसैले, मिल्ने साथी निरज ढकाललाई अष्ट्रेलिएबाट दूरबिन पठाइदिन अनुरोध गरेँ । पठायो पनि ।
अब मसँग चराको किताब र दूरबिन दुबै छ । त्यो भन्दा बढी सिक्ने इच्छाशक्ति छ । अब मलाई कसले छेक्ने ? कसले रोक्ने ?
हरेक शनिबार चरा हेर्न जाने मेला लाग्थ्यो, निश्चित समूहमा । प्रायःजसो नेपाल पंक्षी संरक्षण संघ र चराका साथीहरु नामक संस्थाले हरेक शनिबार चरा हर्न जाने तालिका बनाउँथ्यो । त्यसैबाट शनिबार आयो की चरा हेर्न भनि काठमाडौँ डाँडाडाँडा हिँड्न सिकेँ ।
चन्द्रागिरिपछि त्यस्तो कार्यक्रममा गएको थिइनँ । अझ भनौँ, २०१४ पछि गइनँ । २०१५ को बिचतिर म अब फेरि जाने सोच बनाएँ ।
त्यो शनिबारको लागि कीर्तिपुरको पुष्पलाल पार्क तोकिएको थियोे । तिनकुनेदेखि बिहानै उठेर त्यतातिर लागेँ । सोध्दैसोध्दै गलत बाटो भएर पनि समयमै पुग्न सफल भएको थिएँ । कसैलाई चिनेको थिइनँ । २०१४ मा म पनि सँगै गएको थिएँ भन्दै केही अग्रजहरुसँग नाता लगाउन थालेँ ।
चना, अण्डा र चिया खाइरहेको मैले टाढाबाट कोही अग्लो मानिस, घाँटीमा दूरबिन भिरेर आफैँतिर आएको देखेँ । अलि नजिकसम्म आइपुग्दा मैले विदेशी पनि आएका रहेछन् भन्ने थाहा पाएँ ।
म आत्तिन थालेँ । अब विदेशी आएपछि त अङ्ग्रेजी त बोल्नै पर्यो । मनमनमा टुटेफुटे तयारी पनि गर्न थालेँ । तर मुखबाट शब्दहरु निस्किएलान् भन्ने त पटक्कै लागेन । म लगायत सबैले उहाँलाई नमस्कार टक्य्रायौँ । अब म तयार थिएँ । म उहाँलाई हेरेर मुसुक्क मुस्काएर “हेलो” नभन्दै उहाँले भन्नुभयो “भाइ, नयाँ हो ? म Arend ।” म छक्क परेँ । अरे वाह ! कति राम्रो नेपाली, कति शुद्ध, मैले मनमनै भनेँ । र त्यसदिनदेखि मैले उहाँलाई Arend दाई भनि सम्बोधन गर्न थालेँ ।
तस्विरः Arend दाई (उहाँको फेसबुकबाट)
त्यसपछिका निकै शनिबार, वर्षौसम्म चरा हेर्न भनि गएँ । मेरा घरका मान्छेले पनि शनिबार बिहान मेरा लागि कहिल्यै खाना पकाएनन् । हाम्रो संरक्षण क्षेत्रमा सबैले सबैलाई दाई, भाइ, दिदी अनि बहिनीले निकै नै सम्बोधन गर्छन् । मेरा अन्य क्षेत्रका साथीहरुले मैले सत्तरी कटेकाहरुलाई दाई भनेको सुन्दा कम्ता अचम्म मान्दैनन् ।
कलेजको टूरको शिलशिला होवोस् वा कामको होवोस्, चरा हेर्न छोडिनँ । नचिनेका चराहरुका फोटो खिच्दै “Arend दाई, यो कुन चरा होला ?” भनि फेसबुक मेसेन्जरमा दाइलाई पठाइहाल्थेँ । दाइको बानी भने भिन्न थियो, अन्यको भन्दा सिकाउने बानी फरक । “सन्देश भाइ, यो कुन होला, पहिला अनुमान लगाउ भन्नुहुन्थ्यो ।” अनुमान कुन हिसाबले लगाएको हो भनेर पनि सोध्नुहुन्थ्यो । अनि बल्ल सिकाउनुहुन्थो । कसका आँखा कस्ता ? कसका प्वाँख कस्ता ? कुन चरा कसरी उड्छ । कसको आनीबानी कस्तो हुन्छ ? सबै सिकाउने उहाँको बानी थियो । सबैमा त्यो गुण हुँदैन ।
तस्विरः Arend दाईले हामीलाई सिकाउँदै (उहाँको फेसबुकबाट)प्रायः चरा हेर्न रुचाउनेका गुरु, उहाँ चराहरुप्रतिको समर्पण र धैर्यता त उहाँको बाग्मतीका चराहरुका बारेमा लेखेको किताबपछि थाहा पाएको थिएँ । १३ वर्षसम्म निरन्तर बाग्मती खोलाको तीरैतीर हिँड्दै तयार पारेको किताबले निकै ज्ञान दिन्थ्यो । त्यसैले त उहाँ धेरैका गुरु हुन लायक ब्यक्तित्व हुनुभएको थियो ।
तस्विरः Arend दाईसँग हामी (उहाँको फेसबुकबाट)
तर, आज उहाँ हामी माझ रहनुभएन । उहाँबाट हामीले धैर्य धारण र आफ्नो रुचिलाई कसरी पछ्याउने भनि सिकिरहनु पर्दछ । हजुर जहाँ भएपनि हजुरको चराप्रतिको माया हामीले पनि केही अंश सिकिरहन पाउने हौसला मिल्दछ । हार्दिक श्रद्धान्जली गुरु, Arend दाइको संरक्षण प्रतिको मार्गमा हामी सदैव हिँड्न सकौँ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना । We will miss you, Arend dai.
Rest in peace sir. Will be missing 😢
ReplyDelete