गाउँघर


एकजना साथी छ, हप्तामा दुई चोटि भेटिरहने। कहिले म उसकोमा जाने, कहिले ऊ मेरोमा आउने, चलिरहन्छ। एकदिन चिया गफमा उसले आफ्नो गाउँ घुम्न लैजाने बाचा गर्यो। नयाँ ठाउँ घुम्न पाउने, म पनि राजी खुसी ओके भएँ। उसको गाउँ थियो, 'मेलम्ची' ।


एकदिन दुवैको विदा पारेर लाग्यौं, उसको गाउँतिर । मस्तले बस्दै बस्दै मेलम्ची पुग्यौँ। त्यहाँ पुगेपछि त एक कप चियाको चुस्की त लिनै पर्यो।


जाडो जाडो भएकाले घाम आउने टेबल रोजेर बसेका थियौँ। वल्लो छेउमा बसिरहेका हामी, पल्लो कुनाबाट कोही मान्छे गाउँ जाने कुरो हुँदै रहेछ। आफ्ना साना कान ठडिने मौका पाइहाले। 'टिम्बु' गाउँ जाने कुरो चल्दै रहेछ। हालै नाम चलेको घुम्ने ठाउँका लागि नाम कमाएको 'आमा याङ्ग्री' जाने बाटोमै पर्दो रहेछ त्यो गाउँ। साथीको गाउँ जान भनि हिँडेको म, मेलम्चीका लागि पनि अर्को गाउँ, कस्तो अनौठो। त्यहाँ पनि जान पाए हुँदो हो भन्ने मनमा लाग्यो। सोचेको केही समयमै सँग त्यतै लाग्यौँ, 'टिम्बु' तिर। करिब दुई घण्टामै त्यहाँ पुग्यौँ। निकै जटिल बाटो, केही वर्ष अगाडि मेलम्चीमा आएको बाढीले बाटो जम्मै बगाएर बगर बनाएको रहेछ।


'टिम्बु' मा होटल व्यवसाय गरिरहेका दाजैको पुर्ख्यौली गाउँ भने आमा याङ्ग्री भन्दा पनि परको गाउँ रहेछ। त्यहाँ नगएको पनि धेरै भयो भन्दै, जान मन गरिरहनु भएको थियो। उहाँ त त्यतै बस्नु भयो। हामी भने त्यहाँ भन्दा पनि माथि 'आमा याङ्ग्री'सम्म पुगेर अरू केही थान गाउँहरू हेरेर आउने भनि करिब साँझ को ५ बजे त्यहाँबाट हिँड्यौँ।


यो 'गाउँ' भन्ने शब्दले पनि धेरैलाई बालापनमा पुर्‍याउँदो रहेछ। कहाँसम्मको लाई गाउँ भन्ने भनि कुनै सीमा छैन। जहाँ बस्यो त्यहीँ गाउँ रहेछ। कोही विदेशमा बस्नेले 'काठमाडौं' लाई पनि गाउँ भन्दा हुन् शायद।


गाउँले धेरै याद दिलाउँछ, विषेशत: धरातल। सँगसँगै माया, भावना, अस्तित्व, सम्बन्ध प्रायः गाउँबाटै सिकिन्छ। मलाई आफ्नो गाउँ पुग्न काठमाडौंबाट दुई दिन लाग्छ। गाउँ भनेको टाढा नै हुनुपर्छ भन्ने सोचेको थिएँ । तर जहाँ बस्यो त्यही गाउँ रहेछ। जहाँ बसेर नाता लगाइन्छ, त्यही मान्छे गाउँले रहेछ। सहर सीमित रहेछ, गाउँको कुनै सीमा भेटिएन।

Comments

Popular posts from this blog

सानोठिमी

सन्देशको बिहे

दशैँलाई फर्केर हेर्दा