सानोठिमी
फेरी पनि हप्ताको छैटौँ दिन, शुक्रबारको आगमन भयो । वर्षका प्रायः सबै शुक्रबार र शनिबारहरुमा म आफ्नो मामाघर, भक्तपुरको सानोठिमीमा भेटिन्थेँ । म ३ वर्षको हुँदा पहिलो पटक काठमाडौँ आएको रहेछु । मलाई केही पनि सम्झना त छैन तर ड्याडी मम्मीहरुसँगका लोभलाग्दा फोटोहरु मेरो फोटो एल्बममा सजाएर राखेको छु । अझैँपनि कहिलेकसो क्युट बच्चाहरुको तस्विर हेर्न मन लागेका बेला त्यही फोटो एल्बम पल्टाएर आफ्नै तस्विर हेर्ने गर्दछु । नपत्याए कैद भएका सम्झनाहरु आफैँ हेर्नुहोस् नः तस्विरः फुपूकी छोरी भावना र म काठमाडौँ घुमिसकेर फेरी आफ्नो जन्मथलोतिर गएको रहेछु । त्यसको ठीक १ वर्षपछि पढ्नका लागि काठमाडौँमै आएँ । यहाँबाट भने मेरा मानसपटलमा विभिन्न सम्झनाहरु अझ ताजै छन् । बिराट बोर्डिङ् स्कुलमा ड्याडीले भर्ना गरिदिनु भएको थियो । हामी दुई कोठा लिएर बसेका थियौँ । जसमा हामी तीनजना बस्ने गर्दथ्यौँ, ड्याडी, अङ्कल अनि ‘क्युट बाबु’ म । मम्मीको जागिर भने सल्यानमै भएको हुँदा उहाँसँग केबल दशैँमा मात्र भेट हुन्थ्यो । सानो छँदाको समय त यत्तिकै बितेजस्तो लाग्थ्यो । खायो, खेल्यो, अलिअलि पढेजस्तो गर्या...