देशलाई हेरियो, देशले पनि हेरोस्....
"मन बिनाको धन ठूलो की धन बिनाको मन........" "कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा........." प्रायः बिहानैपख, आँखाहरु यिनै गीतहरुले खुल्ने गर्दछन् । कतिपय चोकहरुमा बज्ने यी गीतहरु, लगभग सबैलाई याद हुने रहेछन् । गीतहरु मात्रै किन, हामीलाई त यी गीत गाउने मान्छे पनि याद छन् । ठूलो स्पीकर, हातमा एउटा सहयोगी लौरो, प्रायः सबैसँग आँखामा लगाउने चस्मा, अनि सुमधुर गीत । धेरैजसो आँखामा समस्या परेका मान्छे देखिन्छन् । बेलैमा स्वास्थ्य सेवा अथवा अन्य सहयोग पाएका भए आज प्रायः मज्जाले हिँडडुल गर्न सक्थे सायद । अहिले पनि कतिपय बिरामी त आँखा अथवा अन्य अङ्गहरुको बेलैमा उपचार नपाएर अहिले हिँडडुल पनि गर्न सक्ने अवस्थामा छैनन् । कोही हिँडडुल गर्न सक्ने अवस्थामा भएपनि कामको खोजीमा सहयोगीका साथमा यताउता जानुपर्ने बाध्यता छ । काठमाडौँको बसाई, सबैलाई एउटै महङ्गी न हो । अलिकति बस्ने छतको रकम केही तल माथि त पक्कै छ, तर बाँकी ? बाँकी त सबै समान न हो । आफ्ना गाउँ ठाउँमा कसैले नहेरेपछि काठमाडौँ तथा ठूला सहरमा जानुभन्दा बाहेक अरु समाधान के थियो होला र ? ...